Wednesday, August 16, 2017

गाउँखाने कथा ।

स्कुल पढ्दा शुक्रबार सधैं अतिरिक्त क्रियाकलाप हुन्थे ।
हाजिरी जवाफ, हिज्जे, रचनाबाचन ( कथा, कविता, मुक्तक), वादविवाद, वक्तृत्वकला गाउँखाने कथा,खेलकुद - कहिले के कहिले के ।
धेरै पटक भाग लिइयो । कहिले हारियो कहिले जितियो । थोरैपटक होला दर्शकदिर्घामा स्थान लिएको ।
ति मध्ये कमैमात्र हुन्थ्यो गाउँखाने कथाको पालो ।
गाउँ खाने कथा भनिन्थ्यो । गाउँ खाइयो कति धेरै पटक - जवाफ नमिलाउनेहरुबाट । अनि कहिलेकाहिँ गाउँ दिइयो पनि । ति मध्ये शुरुमा आफ्नै गाउँ दिइन्थ्यो नपुगे अरुका अरुका गाउँ समेत कब्जा हानिन्थ्यो ।
केही जिते जिते जस्तो । केही पाए पाए जस्तो - मख्ख परिन्थ्यो मञ्चमा बसेर अरुका अनुहार पढ्न पाउँदा अरुलाइ हराउन पाउँदा । अझ बराबरी अंक भएको बेला कठीन प्रश्न गर्न पाएर प्रतिश्पर्धी साथीलाइ अाकुल ब्याकुल पार्दाको क्षण साच्चै आनन्ददायक हुन्थ्यो ।
रमाइलो हुन्थ्यो उबेला गाउँ खान पाउँदा । दिन पर्दा चाहि‌ अनुहार चुस्स पर्थ्यो ।
तिनै मध्ये आज आफुले गाउँ खाएको एउटा गाउँखाने कथा मनमा टड्कारो भएर आएको छ ।
कथा प्रश्न :
"हुन चाहीँ हो,छन चाहीँ छ
चाहीँदा नि चाहीन्न खोजेर नि पाइन्न" के हो?
....................................... ......................
उत्तर शुन्य भएपछी गाउँ मागियो । पाइयो गाउँ अर्थात खाइयो गाउँ । अनि फुकाइयो उत्तर

उत्तर - "भुकम्प" अर्थात "भुइँचालो "।
-ताली पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् बज्थे
त्यो बेलाको ती क्षणमा हामी वास्तवमै रोमाञ्चित हुन्थ्यौं ।
तर आज भुकम्पले साँच्चै गाउँ खाँदा चाहीं मन खिन्न भाएको छ ।
अहो ! गाउँ खानुको अर्थ त यो पो रहेछ - सबैले सबैकुरा गुमाउँदा मनले बल्ल गुह्य कुरा चाल पाएको छ ।
भुकम्पका कथा भनेर साथीबाट मैले भुकम्पका नाममा गाउँ खानु र यथार्थमा मेरा नाममा भएका सारा सारा गाउँ कथा बिना नै
भुकम्पले खानुमा कति अन्तर रहेछ !! आज यी सबैकुराले मन एक तमासको भाएकोछ । अझ भनुँ मन बेचैन र विचलित भएको छ ।
अनि अहिले नै सोध्न मन लागिरहेको छ - "तिमिले मलाइ कुन गाउँखाने कथा सोध्यौ, मैले कुन चाहिं कथाको उत्तर मिलाइन र यसरी कपाकप मेरा गाउँहरु खादैछौ,अनि छिन भरमै खण्डहरमा परिणत गराउँदैछौ मेरा पुस्तैनी धरोहरहरु?"

प्रश्न मेरो मनमा उठ्यो मनमै ठोक्कियो मनमा भुइंचालो लिएर आयो तर बिलाएन कतै । गाउँखाने कथा बारेको यो प्रश्न मन
भित्रै छ अहिलेसम्म अनुत्तरित - अनुत्तरित ।

(नोट : २०७२ साल बैसाख १२ गतेको बिनासकारी भुकम्प र निरन्तरका परकम्पनको त्रासदीमा मनमा आएका भावनालाइ तत्कालिन समयमा एकिकृत गरिएको तर प्रकाशनमा केहि ढिलाइ भएको । लेखन: 2072-04-31,  प्रकाशन: 2074-04-32.)
--ओरष्टे-७,स्याङ्गजा, हाल ललितपुर

Friday, July 7, 2017

गीत

पत्तो पाइन समयको कुन पलमा  भित्र पस्याै
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
               परिचित मुहारमा कठाेरताको भाव राखें 
               त्यही विज झाङ्गीएछ संस्मरणमा आज चाखें ।
               शयरगर्दै नयनपथ कुन घडिमा  भित्र पस्याै
               अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।
एकवचन पश्न मेरो आशय ति भङ्गिमाको 
एकोहोरो हेराइ तिम्रो प्रहार जस्तै स‌ंगीनको 
त्यही प्रहारमा मल्हम लाउन कुन घडिमा  भित्र पस्याै
अाजीवन सदस्य भै मनकाे मझेरीमा बस्याै ।

Thursday, April 27, 2017

-------मुक्तक---------

साभार : श्रोत नखुलेको ,  सुनिएको : मोती लामीछानेज्यू बाट                
मुक्तक (श्रृङ्गारीक  रसमा


               

सिन्दुर लतपत भो कज्जल पूछ प्यारी
आलस्य त्याग अब¸सम्हाल केश सारी ।
अवेर भो छिमेकीले पनि थाहा पाए
प्यारी उठौं कि अव त कुखुरा कराए ।

----------------- आमा ----------------



लाको मोजा च्यातिएछ सिलाउँदै छु आमा¸  
घर आउनलाइ बिदाटिकट मिलाउँदै छु आमा ।

तिम्रोमुख हेर्ने औंशी आजै नै हो दिन¸
आउन पाइन आफ्नै मनलाइ रुलाउँदै छु आमा ।

आफ्ना कष्ट सुक्ष्म सदा हाम्रो मुस्कानसामु¸
तिनै कष्ट टार्ने फुल खिलाउँदै छु आमा ।

फुर्सद छैन कामको चापमा म कसरी भनु ¸
दुइचार दिनको भाखा पर दिलाउँदै छु आमा ।

मिठो चोखो पुर्याउन त सकस जिन्दगीको¸
हातमुख जोर्न पराइपाटो जिलाउँदै छु आमा ।

तिम्लाइ था'छ रहर होइन टाढा बस्नु पर्यो¸
झुठो बाचा आश्वासनको पिलाउँदै छु आमा ।

लाको मोजा च्यातिएछ सिलाउँदै छु आमा¸  
घर आउनलाइ बिदाटिकट मिलाउँदै छु आमा ।



बैशाख १३, २०७४

मातातिर्थ औंशीको दिन ।

Saturday, April 22, 2017

देउडा गीत

----  देउडा गीत ----

दिनै उधै रातै उधै का जान्छै पानीया
काहा  जाइछै के फल खाइछै मेरी सुन्खानिया ।

उधो बग्न्या कर्नालिया उभो उठ्न्या फिन
         एउटै घाम ताप्न्या हामी भेट हुनैन किन ।

कर्नाली घुमाउरो बग्दो लौरी बगाउदैन
         बैरागिया दुखी मन डुलि अघाउदैन ।

बटौली छिटको गुन्यु चोली मखमलको
संसारै दुखीका लागि एकै छिनको झल्को ।

खाउँ भन्या सुकी जान्या पानीका पधेरा 
रातरातै छन् दुखारीका दिन पन अँधेरा ।

जाउँ भने बाटो छैनै हिउँ परिगै लेख 
बाल कालै क्या लागिगो कलेजीका ठेक ।

भेट हुन पायान मैलेभोटे बाइगो भोट
आकाशका तारा जत्तीहृदयका चोट ।

हात गोडा सादी धुली हिन्न जरा खाइद
कालले लै गया भलो यसो गरि चाइ त ।

 जा मौरी जाजरकोट ल्याइ जा रस मेठा,
साइ जुनको, मै दिनकी कैल होला भेट ।

हातै जरा पातै गेडा पाटन बुकीका
          मैना लामा पर्देशीका दिन लामा दुखीका ।

बुङ्तेलका दुवाचौर कोदी नल खतेरो
          कलिजुगका छलीकुरा लाग्दैन पतेरो ।

जा चिटिक सरासर गैजा साथी बैने कोठा
          साथीका रैवार ल्याइआ दुबला छन कि मोटा ।

भेरीका डाङडुङ्गे खोला नागो लाइदे नरी
सुख भन्नु सपनै सरी दु:ख जनम भरी ।

हिउँ विलाइगो ठण्डि रैगो हिउचुली खागर
बाचुन्जेल हासखेल गरौ मरे ले सागर  ।

पतर काटी बन्दुकै त सिसा काटी गोली
सास परानका क्या भरोसा आज हुन कि भोली ।

कोइरालो फूली झकमक त्यो पारी बनमा
          लाग कुइरी लेखका काठ नलाग कुइरी मनमा ।

बाजो राम्रो विनयोको स्वरराम्रो चर्खाको
मु मयाँ मानीर क्यारुँ फुलवारी अर्का को ।

सल्ली उँधो लोटिमर्यो दै चाउले बहर
          मेरै बारी फुल फुल्दैनन् मै मान्दाउँ रहर ।

आदीमैना मंसीरैको भर मैना पुसैको
आइ साल भन्नु मेरो हैन जो बाच्यो उसैको ।

फुल फुटिगो कोट्टो रैगो चल्लो बाइगो चर्न
          हामी त सचेत भैग्यौं तुमी सक्न्या पर्न ।

घरकी मायालु बैनी पोइल जाने भैछ
दिन जाँदो सोचेको थीएँ जोवन जाँदो रैछ ।

शहर ति दरबारै ठुला दर्पन टाँसेका छन्
          मन मेरा साउनका मैना¸ दन्त हासेका छन् ।

आज दाउरा कोइ न गया कोइरालीमा बाघ छ
          छुटने फाटने बेला झन मन रुन लाग्छ ।

उधो बग्न्या कर्नालिया उभो उठ्न्या फिन
         आफु त कस्तुरी भन्छौ¸बास आउनैन किन ।

हिउँचुलीया डाफेचरी पानी काँ खाँदो हो
          हाडमास मिट्टिका भर सुर्ता काँ जाँदो हो ।

हात्तीले मजल्कै लग्यो लाल झाडिका केला
          साइले मायाँ दुनी लायो छाडी जान्या बेला ।

पानीखा पदेरि नखा पदेरीका बाघ
          पर्देशी हूँ पर्देशै छुँ पर्देश मेरा भाग ।

डाली बस्या मै मारम्ला गै जा मालु गैजा
          धन न जा ज्यु पनि नजा मनका जसो होइजा ।

बाटै छेउका जुके नाउला कोइ पानी पिउलाकि

         भोकै छ बाजको चल्लो कोइ चारो दिउला कि ।


Friday, April 21, 2017

संकट

---- मुक्तक ---

कहिले सकस यो, प्रमाण जोगाउन,
झन ठुलो संकट त्यही, प्रमाण लुकाउन,
बुझेरै नसकिने, रीत यो दुनियाँको¸

असम्भव सबैको, चित्त बुझाउन ।

Thursday, April 20, 2017

------हाइकु-----


(१) अनलाइन,

दुइ हरफ काव्य,

विशाल चित्र  । 

(२)

 ट्रककाे गति 

एक अञ्जुली पानी 

बैशाखको धुलो ।

Thursday, April 13, 2017

अाज

मुक्तक :

नपिएरै अाज पिएजस्तै लाग्यो,
नबोलेरै जवाफ दिएजस्तै लाग्यो,
अनवरत वाणी ति मुखारवृन्दमा
अाज मौनब्रत लिएजस्तै लाग्यो ।

MLM and DXN  My Presentation in Training 2077/05/20 2020-09-20, Saturday  6:15-8:15 PM (Nepal TIme) UNDER DXN is MY LIFE,  the weekly progra...