Sunday, February 14, 2016

प्रणय दिवश

बिहान सबेरै साथीको फोनकलले ब्युँझायो । कुनै कामले फोन गरेको थियो । त्यही मेसोमा उसलाइ कामना गर्न भ्याएँ " Wish You Happy Valentine Day"
उसको आवाज एकाएक उत्तेजित सुनियो- " हेर साथी, यी रोजडेप्रमिसडे¸ चकलेटडे¸ टेड्डीडे¸ किसडेअनि भ्यालेन्टाइन डे जति छन् कुनैपनि हाम्रा मौलिक चाड होइनन् । नाम सुन्दै कुनै ब्यापारीको सामान बेच्ने बिज्ञापन जस्ता लाग्दैनन् चाड पनि आयातित अनि सामान पनि । किन मनाउने यी दिवशहरु ?अझ भोलीको Dispute day पर्सीको Breakup Day । यस्तो पनि हुन्छ चकलेट र टेडी बियरमा बिक्ने माया  जो १ हप्तामै Breakup मा गएर टुङ्गीन्छ ? गुलाफको फूलसँगै १ दिनमै ओइलिन्छ । यस्तो पनि प्रेम दिवश भनेर मान्ने सरस्वती पुजा मनाउँ¸ल्होसार मनाउँ¸भाइटीका दशै अनि जनैपुर्णीमा र बुद्ध जयन्ती,शहिद दिवस र न्वागी, उधौली र धाननाच । अनेक पर्व र दिवश मनाउँ न हामी । किन अरुका पर्व र दिवशमा रुमल्लिने ?" उसको तर्कमा दम थियो ।
हुन पनि हो - सबैभन्दा नजिकको कुरा गर्दा सरस्वती पुजामा चढाउनुपर्ने फूलहरु रोज डे र किस डे भन्दै अर्कैतिर प्रयोग भइरहेका थिए । उसका कुरा अकाट्य थिए, म पुरै कन्भिन्स्ड ।
दुरदराजको साथीभाइसँगको बसाइभेटघाट जे भनेपनि फोननै हो । अलिबेरमा अर्को साथीसँग कुरा भयो । अघिल्लो साथीले भनेकै कुरा उसलाइ सुनाएँ । अट्टाहस हाँसो हाँस्दै उसले भन्यो "हिजो so called जनयुद्ध दिवश थियो त्यो अयातित पनि हैन । तैंले उसोभए त्यही मनाइस् होला नि मौलिक दिवश भनेर । बन्दुक दिवश  मना¸हत्या हिंसा दिवश मना, प्रेम दिवश किन मनाउनु ? "
उसको तर्कमा पनि दम थियो। लाग्यो युद्ध दिवश पो मनाउनु हुन्न प्रेम दिवशले त राम्रै गर्छ नि । सोचें " म साह्रै सोझो छु यार ।  जसले पनि मलाइ सजिलै कन्भिन्स गर्छ।"
"भाउजुलाइ फोन गरिस् त ? लगभग हकारेको स्वर सुनियो 
झसङ्ग भएँ -- आज प्रणय दिवश¸प्राणप्यारी अर्धाङ्गीनीलाइ फोननै पो गरेको छैन ।  आवेशमा उसलाइ जानकारीनै नदिइ सम्पर्क बिच्छेद गरें र उनको नम्बर थिच्न थालें ।
मेरो सोचाइ दुइवटा वार्तालापमै १८० डिग्री बदलिएको थियो ।


मिति २०७२  | ११ ०२¸गोंगर दोलखा ।

Monday, January 18, 2016

आवास मुक्त क्षेत्र

आवास मुक्त क्षेत्र

चोकनेरी पुग्दा नपुग्दै मुल बाटोको छेवैमा एउटा अग्लो हरियो भरिलो उत्तिसको रुख देखिन्छ । अघिल्लो पटक आउँदा सानो थियो यमानले बढेछ चौडाइतिर भन्दा लम्बाइतिर । भिरालो ठाउँ उकालो बाटोमा टाउको ठाडो पारेर हेर्दा देखिन्छ सोही रुखको कापमा खियालागेको फलामको फ्रेममा फलामकै तारले बाधेर झुण्ड्यार्इएको फ्लेक्स प्रीन्ट गरिएको होर्डिङ बोर्ड ।
उ १२-१५ खुड्कीला माथि चढेर उभिन्छ र पढ्न पनि हम्मेहम्मे पर्ने उचाइमा रहेको सो बोर्डमा  लेखिएका अक्षरहरु हेर्छ । माखी परेको सेतो फ्लेक्समा राता निला सन्देशबाहक अक्षरहरु प्रष्ट देखिन्छन् जस्ताको तस्तै ।
"याद गर्नुहोला तपाइ अहिले खुल्ला दिशामुक्त क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ ।"
गतबर्ष गाउँलेहरुको नाममा आएको गा वि स को विकास बजेटको प्रमुख अंश यसै शिर्षकमा खन्याइएको थियो । उनीहरुको सहमतीबिनै चलाइएको थियो कार्यक्रम र गरिएको थियो घोषणा पनि । फगत साक्षी बनेकाथे गाउँलेहरु यसमा । २ दिन चाहि बडो रमाइलो भो । घोषणा हुने अघिल्लो तयारीको दिनमा र भोलीपल्ट घोषणाको दिनमा । मान्छेको जमघट¸ जिल्लाका प्रमुख दलका मुख्य नेताहरुको आगमन¸बाजागाजा झाँकी सहितको जुलुस¸ आमसभा अनि भाषण र प्रतिबध्दताहरु ।

तर तेश्रो दिन फेरी नियमिततामा फर्केथे गाउँलेहरु । यी सबैकुरा उसलाइ किन थाहा थियो भने संयोगले उसले यस कार्यक्रममा सहभागीहुने अवसर पाएको थियो ।

गाउँतिर अगाडी बढ्दै जाँदा उराठ लाग्दो दृश्यहरु देखिन्छन् ।
पहिले जाँदा बस्ने गरेका घरका पिढीहरु छन् तर गुन्द्री छैनन् । आँगन छ तर छाना छैन । मानीसहरु सबै पाल र जस्ताको टहरामा बास बसीरहेका छन् । मान्छे तुषारो छल्न खोज्दैछन्¸तुषारो मान्छे छल्न खोज्दै छ । मानौं जसोतसो आफ्ना दैनिक काम निब्ट्यायर झन्डै माइनस पुग्ने तापमानमा रमाइरहेको शित र तुसारोसग संघर्षरत जीवन मात्र बाँकी छ गाऊँमा । यही नै हो यहाँको यथार्थता ।

 बैशाख १२¸१३¸२९ तथा नियमित आइरहेका भुकम्प र पराकम्पनले निम्त्याएको बिनास¸ थिलोथिलो बनाएको गाउँ¸ र अस्तब्यस्त गाउँले जनजीवन ।
उसलाइ नराम्ररी चिमोट्छ मनमा भित्रैदेखी । ।
स्थान उही तर दृश्य फरक , 
मौसम उही समय फरक , 
जीवन उही तर संघर्ष फरक , 
आत्मियता उही तर अभिब्यक्ति फरक ।
यही फरक परिस्थिती र समयमा उसलाइ चिच्याएर भन्न मन लाग्छ ।
"माफ गर्नुहोला तपाइ अहिले खुल्ला आवास युक्त क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ । किनकी यो अहिले खुल्ला दिशामुक्त होइन खुल्ला आवास युक्त क्षेत्र हो¸ आवास मुक्त क्षेत्र हो । हो यो अहिले आवास मुक्त क्षेत्र हो ।
बरु यसको घोषणा चाहि जतिसक्यो चाँडो गरियोस् ।"
मन एकतमासको हुन्छ ।
चारैतिर हेर्छ साच्चै याद गर्न मन लाग्छ उसलाइ ती होर्डीङ बोर्डका वाक्यहरु ।
परिवर्तित सन्दर्भले कुनै असर गरेको थिएन¸ बेस्करी जिस्क्याए जस्तो¸ गिज्याए जस्तो अनि छाप्रामा रातभरी हिउँ ओढेर सुतेका गाउँलेलाइ खिसी गरेजस्तो होर्डीङ बोर्डका अक्षरहरु उसैगरी मुस्काइरहेथे आफ्नै पारामा, निर्भिक भएर
"याद गर्नुहोला तपाइ अहिले खुला दिशामुक्त क्षेत्रमा प्रवेशगर्दै हुनुहुन्छ ।"

२०७२।१०।०४ सोमबार ।

MLM and DXN  My Presentation in Training 2077/05/20 2020-09-20, Saturday  6:15-8:15 PM (Nepal TIme) UNDER DXN is MY LIFE,  the weekly progra...